प्रभु बैंकले ग्रान्ड बैंक खरीद गर्दै, प्रति सेयर ६७ रुपैयाँ मूल्यांकन, सेयरमै भुक्तानी गरिने

बिजमाण्डू
२०७१ माघ १५ गते ००:०० | Jan 29, 2015
प्रभु बैंकले ग्रान्ड बैंक खरीद गर्दै, प्रति सेयर ६७ रुपैयाँ मूल्यांकन, सेयरमै भुक्तानी गरिने
सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । प्रभु बैंकले ग्रान्ड बैंक नेपाल खरीद (एक्विजिसन) गर्ने भएको छ । फाइनान्सबाट विकास बैंक हुँदै बाणिज्य बैंक भएको प्रभुले ग्रान्ड बैंकलाई प्रति सेयर ६७ रुपैयाँका दरले खरीद गर्न लागेको हो । 
 
ग्रान्ड बैंकको वित्तीय अवस्था विग्रिएर शिघ्र सुधारात्मक कारवाही (पिसिए) मा परेको छ । ग्रान्ड बैंकलाई राष्ट्र बैंकले पुँजी कोष अनुपात फागुनसम्म १० प्रतिशतको हाराहारीमा पुर्याउन निर्देशन दिएको छ । डुबेका सबै ऋण तत्काल उठ्नसक्ने अवस्था छैन, जसले गर्दा राष्ट्र बैंकले दिएको सीमाभित्र ग्रान्ड बैंकको पुँजी कोष पुग्दैन ।

 
ग्रान्ड बैंकलाई खरीद गरेपछि प्रभु बैंकको खराब कर्जा अनुपात १६ प्रतिशतको हाराहारीमा पुग्ने छ । पुँजी कोष अनुपात १० प्रतिशतभन्दा केही बढी नै हुने छ, जुन राष्ट्र बैंकले तोकेको सीमाभित्रै हो ।

हकप्रद सेयर जारी गरेर पुँजी बृद्धि गर्ने विकल्पमा जाँदा पनि समय धेरै लाग्छ जसले गर्दा फागुनको डेटलाइन नाघ्छ । ग्रान्डले बीचको बाटो अपनाउँदै प्रभु बैंकलाई सेयर भुक्तानी गर्ने गरि संस्था विक्री गर्न लागेको हो ।
 
पछिल्लो समय प्रभु बैंक मर्जरबाट ठूलो संस्था हुने रणनीतिमा लागेको छ । उसले फाइनान्स कम्पनीबाट स्तरोन्नति हुनका लागि वैभव फाइनान्स र समृद्धि विकास बैंकलाई आफूमा गाभेर विकास बैंकमा स्तरोन्नति भएको थियो । त्यसपछि समस्यामा रहेको किस्ट बैंकलाई प्रति सेयर ९७ रुपैयाँका दरले गाभेर बाणिज्य बैंकमा स्तरोन्नति भएको थियो । 
 
५० करोड रुपैयाँवाहेक सबै ऋण उठ्ने अवस्थामा रहेको ग्रान्ड सस्तोमै पाइएकाले प्रभुले खरीद गर्ने प्रकृया अगाडि वढाएको हो । दुबै संस्थाबीच बिहीबार साँझ प्रभु बैंकको केन्द्रीय कार्यालय विजुली बजारमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचन र ग्रान्ड बैंकका अध्यक्ष स्वरुप कोनेले हस्ताक्षर गरेका छन् । 
 
प्रभु बैंकको अहिले तीन अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी छ । दुई अर्बको ग्रान्ड बैंक ६७ रुपैयाँका दरले खरीद गर्दा बैंकको पुँजी एक अर्ब ३४ करोड रुपैयाँले बढ्ने छ । खरीदपछि प्रभु बैंक पुँजीका हिसावले निजी क्षेत्रकै ठूलोमध्येको बैंक हुने छ ।
 
के हुन्छ वित्तीय अवस्था ?
ग्रान्ड बैंकलाई खरीद गरेपछि प्रभु बैंकको खराब कर्जा अनुपात १६ प्रतिशतको हाराहारीमा पुग्ने छ । पछिल्लो विवरण अनुसार प्रभुको खराव कर्जा १५ प्रतिशतको हाराहारीमा छ । 
 
पुँजी कोष अनुपात १० प्रतिशतभन्दा केही बढी नै हुने छ, जुन राष्ट्र बैंकले तोकेको सीमाभित्रै हो । ग्रान्डको पुँजी कोष अनुपात साढे दुई प्रतिशत र खराब कर्जा अनुपात २० प्रतिशतको हाराहारीमा पुगेपछि राष्ट्र बैंकले पिसिए लगाएर सुधारका लागि फागुनसम्मको समय दिएको थियो ।
 
खराव अवस्थमा रहेको किस्ट बैंकलाई मर्ज गरेका कारण प्रभुले करिव तीन अर्ब रुपैयाँ बराबरको ऋणको नोक्शानी व्यवस्था गरिसकेको छ । ग्रान्ड बैंकले पनि दुई अर्ब रुपैयाँ बराबरको खराव ऋणको नोक्शानी व्यवस्था गरिसकेको छ ।
 
ग्रान्डको दुई अर्ब र प्रभुको करिव तीन अर्ब ऋण उठाउनु पर्ने छ । बर्षेनी यो ऋण उठाउन पहल भएमा बैंकलाई अनिरिक्त आम्दानी हुने छ । 
कर्मचारी व्यवस्थापनका लागि छुट्टै समिति बनाइने छ । 
पिसिए लागेपछि ग्रान्डले केही कर्जा उठाएर खराव कर्जा केही घटाएको छ भने पुँजी कोष अनुपात ६ प्रतिशतभन्दा केही वढी पुर्याएको छ । बैंकका केही ऋणहरु उठ्ने प्रकृयामा रहेको व्यवस्थापन स्रोतले जानकारी दिएको छ ।
 
प्रभु बैंकले पनि पुराना डुबेका ऋणहरु धमाधम उठाउन थालेको छ । जम्को पब्लिकेशन प्रालिसँग सम्बन्धित केही ऋण उठ्ने प्रकृयामा छ । यो ऋण तिर्नका लागि कमलप्रसाद ज्ञवालीले प्रभु बैंकको २८ करोडको सेयर बिक्री गरिसकेका छन् । 
 
ग्रान्डको दुई अर्ब र प्रभुको करिव तीन अर्ब ऋण उठाउनु पर्ने छ । बर्षेनी यो ऋण उठाउन पहल भएमा बैंकलाई अनिरिक्त आम्दानी हुने छ । 
 
जनतासँग कुरो टुट्यो 
ग्रान्ड बैंकको वित्तीय अवस्था खराव भएपछि राष्ट्र बैंकको दवावमा जनता बैंकसँग मर्जरका लागि छलफलहरु भएका थिए । अध्यक्ष कोने र सञ्चालक समिति सदस्य शशिकान्त अग्रवालले जनता बैंकसँग कुराकानी गरेका थिए ।
 
जनता बैंकले ग्रान्ड बैंकको कर्मचारी युनियन खारेजीलगायत विभिन्न सर्तहरु राखेपछि मर्जर प्रकृया अगाडि वढ्न सकेको थिएन । यही बीचमा ग्रान्डले अर्को पार्टनर प्रभुलाई फेला पारेर सेयरमा भुक्तानी गर्ने गरी बैंक बिक्री गर्ने सम्झौता गरेको हो ।
 
जनता बैंकका सञ्चालक गुरुप्रसाद न्यौपानेले ग्रान्डलाई गाभ्नका लागि प्रकृया अगाडि वढाएका थिए, यसमा राष्ट्र बैंकले ग्रान्डलाई प्रत्यक्ष दवाव नै दिएको थियो । ग्रान्डको वाध्यताको फाइदा उठाउँदै जनताले सर्तहरु तेर्साउन थालेपछि ग्रान्डका सञ्चालकहरु अर्को संस्था खोज्न हिँडेका थिए ।
 
राष्ट्र बैंकको दवावमा मर्जरमा जानु पर्ने अवस्था आएपछि प्रभुसँग कुराकानी टुङ्ग्याएर ग्रान्ड सञ्चालकहरुले राष्ट्र बैंकलाई मनाएका थिए । राष्ट्र बैंकले ग्रिन सिग्नल दिएपछि ग्रान्ड र प्रभुको एक्विजिसन अगाडि वढेको हो । यद्यपी राष्ट्र बैंकका कतिपय अधिकारीहरु अहिले पनि प्रभुसँगको एक्विजिसनको पक्षमा देखिएका छैनन् । उनीहरुले खराव संस्थाहरु आपसमा मिल्दा वित्तीय अवस्था अझ विग्रिन सक्ने बताउँदै आएका छन् । 

कसरी ग्रान्ड र प्रभु मिले ?
प्रभु बैंक फाइनान्स नै हुँदा ग्रान्ड बैंकसँग मर्जरमा जाने कुराकानी भएको थियो । त्यसबेला राम्रै अवस्थामा रहेको ग्रान्डसँग सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) नमिलेका कारण मर्जर प्रकृया अगाडि बढेको थिएन । 
 
अहिले भने ग्रान्डको अवस्था खस्किएकाले स्वाप तथा अन्य सर्तहरुमा पनि कुराकानी मिलेको छ । जनता बैंकसँग अगाडि बढ्न नसक्ने निस्कर्ष निस्किएपछि ग्रान्ड सञ्चालकहरुले प्रभुसँग कुराकानी गरेका थिए ।
 
प्रभु बैंकले राष्ट्र बैंकको ग्रिन सिग्नल ल्याएमा खरीद प्रकृया अगाडि बढाउने जनाउ दिएपछि ग्रान्डका सञ्चालकहरुले राष्ट्र बैंकलाई मनाएका थिए । 
 
ग्रान्डको वित्तीय अवस्था बिग्रिएका कारण उसले प्रभुका सबै सर्तहरु मानेको छ । प्रभु बैंकले पनि ग्रान्डको कर्मचारी समायोजनदेखि अन्य सर्तहरुलाई स्वीकार गरेको छ । 
 
दुवै संस्थाबीच प्रभु बैंकमा ग्रान्डका तर्फबाट कोही पनि सञ्चालक समितिमा नजाने सहमति भएको छ ।
 
साथै नाम पनि प्रभु नै रहने र उच्च व्यवस्थापनमा ग्रान्ड बैंकका कर्मचारीले प्रतिनिधित्व नगर्ने पनि सहमति भएको छ । कर्मचारी व्यवस्थापनका लागि भने छुट्टै समिति बनेर त्यसले समायोजन गर्ने सहमति भएको छ । 
 
सहमतिसँगै ग्रान्ड बैंक सञ्चालक समितिले आफ्नो कर्मचारी युनियनलाई यसबारेमा जानकारी गराएको छ । कर्मचारीहरुले चार बर्ष पुरा गरेकाहरुलाई बढुवा गर्नु पर्ने माग पुरा गर्ने वाचा सञ्चालक समितिले दिएको छ । नयाँ संस्थामा जान नचाहने कर्मचारीका लागि आवश्यक सुविधा दिएर स्वेच्छिक अवकासको योजना ल्याउने पनि तयारी भइरहेको छ । 

Tata
GBIME
Nepal Life