तामाकोशीको सेयर आवेदन आजबाट खुला, पहिलो चरणमा तीन करोड ६० लाख कित्ता सेयर विक्री

बिजमाण्डू
२०७१ फागुन ११ गते ००:०० | Feb 23, 2015
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दा, कर्मचारी सञ्चय कोषका बचतकर्ता, ऋण लगानी गर्ने संस्थाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई सोमबारबाट साधारण सेयर जारि गरेको छ । 
 
तामाकोशीले एक सय रुपैयाँ अंकित दरका तीन करोड ६० लाख ६ हजार कित्ता सेयर जारी गरेको हो । कम्पनीले तामाकोशी निर्माणस्थल दोलखाका बासिन्दालाई एक करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गरेको हो । 


 
साथै ऋण सम्झौता हुँदा (चार बर्षअघि) कर्मचारी सञ्चय कोषको बचतकर्ताहरुका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार ९२० कित्ता र आयोजनाका कर्मचारी तथा विद्युत् प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार ५६० कित्ता सेयर जारी गरिएको छ । आयोजनामा सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानले ऋण लगानी गरेका छन् । 
 
कम्पनीले निस्कासन गर्ने कुल सेयरमध्ये ३४ प्रतिशत सेयर पहिलो चरणमा जारी गरिएको हो । कम्पनीले दोलखावासीका लागि १० प्रतिशत सेयर जारी गरेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई १७.२८ प्रतिशत र ऋण दिने संस्थाका कर्मचारीलाई २.६६ प्रतिशत र तामाकोशी तथा विद्युत प्राधिकरणका कर्मचारीका लागि ३.८४ प्रतिशत सेयर जारी गरेको छ । 
 
प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीलाई जारी गरिने सेयर दोस्रो बजारमा तीन बर्षपछि मात्र कारोबार गर्न पाइने छ । सर्वसाधारणका लागि भने १५ प्रतिशत सेयर छुट्याइएको छ ।   
 
२०७२ चैतमा आयोजना निर्माण सक्ने गरी काम सुरु गरिएको माथिल्लो तामाकोशीको क्षमता ४५६ मेगावाट हो । यो आयोजनाले सेयर जारी गर्नकै लागि चौथो बार्षिक साधारणसभाबाट सेयर पुँजी बृद्धि गरेको थियो । ११ अर्ब अधिकृत पुँजी भएको माथिल्लो तामाकोशीको नयाँ पुँजी संरचना अनुसार चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । 
 
तामाकोशीको संस्थापकका रुपमा प्राधिकरणको ४१ प्रतिशत सेयर छ । नेपाल टेलिकमसँग ६ प्रतिशत, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषसँग २/२ प्रतिशत सेयर छ । 
 
आयोजनामा चार संस्थाले २२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । यसमध्ये सञ्चय कोष एक्लैले १० अर्ब ऋण र दुई अर्ब डिबेन्चर दिएको छ । नागरिक लगानी कोषले दुई अर्ब, बिमा संस्थानले दुई अर्ब र नेपाल टेलिकमले ६ अर्ब ऋण लगानी गरेका छन् ।
 
तामाकोशीको सेयर वाँडफाँडमा स्थानीय वासिन्दालाई अन्याय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । अदालतले सम्भवत आजै यस बारेमा प्रारम्भिक निर्णय सुनाउने छ । 

कहाँ कसरी फारम भर्ने ?
 
कम्पनीको सेयर नागरिक लगानी कोष, एनसिएम मर्चेन्ट बैंकिङ, राष्ट्रिय बाणिज्य बैंक, जनता बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र सिटी डेभलपमेन्ट बैंकका शाखाहरुबाट आवेदन दिन सकिने छ । यसैगरी यति डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, विराटलक्ष्मी विकास बैंक, सहयोगी विकास बैंक, सृजना फाइनान्स, वेष्टर्न डेभलपमेन्ट बैंक र काबेली विकास बैंकका शाखाहरुमा पनि आवेदन फारम भर्न सकिन्छ । 

Tata
GBIME
Nepal Life