बरुण हाइड्रोको सेयर भर्न सास्ती, दिउँसो १ बजेबाट मात्रै फर्म वितरण, एक जनालाई दुईवटा मात्रै फर्म

बिजमाण्डू
२०७१ फागुन १८ गते ००:०० | Mar 2, 2015
बरुण हाइड्रोको सेयर भर्न सास्ती, दिउँसो १ बजेबाट मात्रै फर्म वितरण, एक जनालाई दुईवटा मात्रै फर्म

काठमाडौं। बरुण हाइड्रोले निष्काशन गरेको सेयर भर्न सर्वसाधारणले सास्ती भोग्नु परेको छ। आइतबारदेखि हाइड्रोको सेयर सर्वसाधारणका लागि विक्री खुला गरिएको हो। सिमित संकलन केन्द्र, थोरै फर्म र झरीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको हो।

Tata
GBIME
Nepal Life


बरुण हाइड्रोको सेयर आवेदन फर्म किन्न नयाँ वानेश्वरस्थित जनता बैंकको मुख्य कार्यालयअगाडि सडकमा लाइन बसेका सर्वसाधारण

संकलन केन्द्र तोकिएको स्थानमा सोमबार कार्यालय समय सुरु भएपछि पनि धेरै ढिला गरी फर्म बाँडिएको थियो। जनता बैंकको मुख्य कार्यालय नयाँ वानेश्वरमा सर्वसाधारणले सोमबार दिउँसो १ बजेमात्रै सेयर आवेदन फर्म पाएका थिए।

'हामी बैंक खुल्नासाथ फर्म लिन लाइनमा बस्यौं, तर १ बजेबाट मात्रै फर्म बाँड्न थालियो,' सेयरको आवेदन फर्म भर्न जनता बैंक पुगेका सुरज बस्नेतले भने, 'जम्मा दुईवटा फर्म लिन पनि एक घण्टा भन्दा बढि समय लाइनमा बस्नु पर्‍यो।' एकजना व्यक्तिलाई दुईवटाका दरले मात्रै फर्म दिइएको थियो। सामान्यत: फर्मको मूल्य तिरेपछि सर्वसाधारणले चाहेजति किन्न पाउँछन्।

फर्म लिन लाइन बस्दा बिच बिचमा फर्म सकियो भन्‍दै संकलन केन्द्रमा सर्वसाधारणलाई लामो समय कुर्न बाध्य बनाएको थियो। झरी परेको दिनमा सर्वसाधारण रुझ्दै लाइनमा बसेका थिए। जनता बैंकसँगै अर्को विक्री केन्द्र सिभिल क्यापिटल मार्केटमा पनि फर्म लिने र बुझाउनेको ठुलो भीड थियो।
जलविद्युत आयोजनाको प्राथमिक सेयरमा सर्वसाधारणको ठुलो आकर्षण छ। संकलन केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधारण लगानीकर्ताले सास्ती भोग्नु परिरहेको छ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले एक सय रुपैयाँ अंकित दरका चार लाख ८६ हजार कित्ता सेयर निस्कासन गरेको हो । कुल सेयरमध्ये कम्पनीले २४ हजार तीन सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । नौ हजार सातसय २० कित्ता सेयर कर्मचारीले पाउने छन् । बाँकी चार लाख ५१ हजार ९८० कित्ता सेयरका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
 
फागुन २० गते निस्कासन बन्द हुने सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम  एक हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । कम्पनीको विद्युत उत्पादन केन्द्र संखुवासभाको जलजला गाविसमा छ ।