पुँजी बृद्धिको पक्षमा अर्थमन्त्री उभिए, सिभिल बैंकका इच्छाराज तामाङ फिर्ता गराउने पक्षमा



बिजमाण्डू
२०७२ भदौ १७ गते ००:०० | Sep 3, 2015

Tata
GBIME
Nepal Life

सविन मिश्र/बिजमाण्डू
काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले बैंक तथा वित्तीय सस्थाको पुँजी बृद्धि गर्ने निर्णय उपयुक्त भएको भन्दै नेपाल राष्ट्र बैंकको पक्षमा दरोसँग उभिएका छन् । उनले संसदीय समितिले पुँजी बृद्धिका विषयलाई राष्ट्र बैंकलाई कुनै पनि निर्देशन दिन नहुने बताएका छन् । 

 
संसदको अर्थसमिति बैठकमा अर्थमन्त्री महतले संसदीय समितिले स्वायत्त निकाय केन्द्रीय बैंकको भूमिका बुझ्नुपर्ने भन्दै छलफल गर्न सक्ने भए पनि मौद्रिक नीतिका विषयमा निर्देशन दिन नसक्ने बताए । समितिले बैंक तथा वित्तीय सस्थाको पुँजी बृद्धिको विषयमा गत मंगलबार र विहीबार (आज) छलफल गरेको हो । 

विहीबार समितिको बैठकमा उपस्थित भएका अर्थमन्त्री डा. महतले राष्ट्र बैंकले लामो अध्ययन पछि पुँजी बृद्धिको निर्णय गरेकोले यसमा हस्तक्षेप गर्न नहुने बताए । 

 
‘बाणिज्य बैंकको पुँजी १० अर्ब बनाउने भनेर छलफल भएको थियो,' अर्थमन्त्री डा. महतले समितिमा भने, 'एकै पटक धेरै नै बढाएको जस्तो हुन्छ कि, थप अध्ययन गर्नुस भनेपछि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बनाएको हो । यो उपयुक्त पनि छ । त्यसैले राष्ट्र बैंकको क्षेत्राधिकार भित्र हस्तक्षेप गर्नु हुँदैन ।’ बैंक तथा वित्तीय सस्थाको संख्या घटाउनकै लागि पुँजी बृद्धिको निर्णय लिइएको पनि उनले स्पष्ट गरेका छन् । 
 
नेपालमा ३०/३५ वटा बैंक आवश्यक नभएको उनले सभासद्हरुलाई बताए । ‘अब यति धेरै बैंक रहँदैनन्, अर्थमन्त्रीले भने, 'अब कन्सोलिडेट हुनै पर्छ ।’ 

राष्ट्र बैंकले अध्ययन गरेर पुँजी बृद्धिको निर्णय गरेको कारण अन्य सबै सरोकारवाला पक्षले निर्णय कार्यान्वयनका लागि सहयोग गर्नुपर्ने अर्थमन्त्रीले बताए । केन्द्रीय बैंकले यथार्थता बुझेर पुँजी बृद्धिको निर्णय गरेकाले समितिले पुँजी बृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिन नहुने बताएका छन् । 

 
पुँजी बृद्धिको निर्णय कार्यान्वयन गर्ने सवालमा कुनै व्यवहारिक समस्या देखिए भने राष्ट्र बैंकले समस्या समाधान गरिदिनुपर्ने अर्थमन्त्रीले बताए । 
'व्यवहारिक कठिनाई केही भए त्यो समाधान गरिदिनुपर्छ,' मन्त्री महतले भने, 'तर पुँजी वृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिनुपर्छ भन्ने जुन कुरा छ यो केन्द्रीय बैंकको स्वायत्ततामाथिको हस्तक्षेप हो ।' महतले संसदले प्रजातान्त्रिक पद्धतिको अभ्यास गर्ने भन्दै अर्काको क्षेत्राधिकारमा हस्तक्षेप गरे त्यसले अराजकता निम्तनेसमेत बताए ।
 
बैठकको सुरुमै समिति सदस्य सभासद् इच्छाराज तामाङले पुँजी बृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिनुपर्ने प्रस्ताव गरेका थिए । उनले पुँजी वृद्धिको प्रस्ताव अनुचित भएको समेत बताए । सभासद् तामाङ सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष पनि हुन् ।

पुँजी बृद्धिकै कारण उनको बैंक अर्कोसँग गाभिएर अस्तित्व समाप्त हुने डरले तामाङले नै यो मुद्धा संसदमा पुर्‍याएका हुन् । 

 
सभासद तामाङको प्रस्तावमाथि अर्थमन्त्री महतले जवाफ फर्काएका थिए । उनले संसार भर केन्द्रीय बैंक स्वायत्त (अटोनोमस) हुने र सरकारले हस्तक्षेप नगर्ने प्रचलन रहेको र पुँजी बृद्धिको निर्णय ठीक रहेको बताए ।

सभासद तामाङलाई समर्थन गर्दै पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले राज्य पुनर्निमार्णमा लाग्नुपर्ने बेलामा राष्ट्र बैंकले पुँजी बृद्धिको निर्णय गरेको भन्दै आलोचना गरे । उनले भने, ‘पुँजी बृद्धि गर्न यो समय ठीक होइन, टाइमिङ मिलेन ।’ 
 

उदय समसेरले भने– किन रोकियो सुमार्गीको पैसा ?  
अर्थसमितिमा सभासद उदय समसेर राणाले सुमार्गी समूहको पैसा किन रोकियो भनेर प्रश्न उठाए । ‘नेपाल स्याटलाइट कम्पनीको ११ मध्ये आठ अर्ब रुपैयाँ आयो, तीन अर्ब रुपैयाँ किन रोकियो ?’ 
 
सभासद् राणाले रोकिएको पैसा कालो धन भए सोही अनुसार कारवाही गर्न पर्ने, कालोधन नभए पैसा रोक्न नहुने बताएका छन् । ‘कालो धन हो भने कानुन अनुसार कारवाही होस, उनले भने, कालो धन होइन भने पैसा रोक्नु हुँदैन ।’