५१ अर्ब रुपैयाँ कर छल्ने षड्यन्त्र भइरहँदा अख्तियार भन्छ- अहिलेसम्म कुनै उजुरी नै परेको छैन

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री प्रकरणमा औपचारिक रुपमा अहिलेसम्म कुनै उजुरी प्राप्त नभएको जनाएको छ।

Tata
GBIME
Nepal Life

स्वामित्व परिवर्तन हुने गरी हुन लागेको सेयर बिक्रीमा राज्यले पाउनु पर्ने ५१ अर्ब रुपैयाँ कर छल्ने गरी भ्रष्टाचारको प्लट तयार भइरहेको समाचार सार्वजनिक भइरहँदा अख्तियारले यो विषयमा अहिलेसम्म आयोग प्रवेश नगरेको बताएको हो।

अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले अहिलेसम्म एनसेलको विषयमा कुनै निर्णय पनि नभएको र आयोगमा उजुरी पनि नपरेकाले यसबारे थप टिप्पणी गरिरहनु आवस्यक नरहेको पनि बताए । 'हामीले अनुसन्धान थाल्ने भनेको कि त्यसमा कुनै खास निर्णय हुनुपर्‍यो अथवा त्यसबारे उजुरी पर्नुपर्‍यो,' पुष्करले भने, 'यी दुवै नभएको अवस्थामा विशेष खालको टिप्पणी आवस्यक छैन।'

उनले भने, 'यो विषयमा नेपाल सरकारका विभिन्न निकाय र संसदीय समितिलेसमेत अध्ययन गरिरहेका छन्। यस्तो अवस्थामा हामीले अहिले नै यही हो भनेर भन्न मिल्दैन।'

अहिलेसम्म आयोगमा यो विषय प्रवेश नगरेको बताउँदै उनले भने, 'यो विषयमा जे-जे डेभलपमेन्ट भइरहेको छ, त्यस विषयमा आयोगले क्लोजली मनिटर गरिरहेको छ।'

अख्तियारको कार्यक्षेत्र कानुनमा प्रष्ट रुपमा उल्लेख भएको भन्दै उनले क्षेत्राधिकार बाहिर आफूहरु जान नसक्ने पनि दावी गरे। 'अख्तियार कहाँ प्रवेश गर्ने, कसरी प्रवेश गर्ने र किन प्रवेश गर्ने भन्ने कुरा कानुनमा प्रष्ट रुपमा उल्लेख छ,' पुष्करले भने, 'उजुरीका रुपमा नरहेकाले हामीले अहिले नै यो विषयमा ध्यान दिनुपर्ने नदेखिएको म जानकारी गराउँछु।'

अख्तियारले विकास खर्च हुन नसक्नुमा भने आफ्नो चासो रहेको पनि स्पष्ट पारेको छ। २५ वार्षिकोत्सवको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा पुष्करले भने, 'विकास खर्च कम भइरहेको छ, यसबारे हाम्रो गम्भीर ध्यानाकर्षण भइरहेको छ। त्यस विषयमा हामीले केही निर्देशन दिएका हौं।'