सेञ्चुरी कि नबिल बैंक? अनिल शाहले भने- तलब घटेर जाने कुरा त आउँदैन, प्रस्ताव आएको छ

बिजमाण्डू
२०७४ पुष १० गते ११:३१ | Dec 25, 2017
काठमाडौं। सेञ्चुरी बैंक जाने कि नबिल? 
 
पुस १७ गतेबाट हाजिर हुने गरी नियुक्तिपत्र बुझेका अनिल शाह सेञ्चुरी कमर्सियल बैंक जाने बिषय अनिश्चित बनेको समाचार सार्बजनिक भएसँगै उनले जबाफ दिएका छन्। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार बर्षका लागि करार सम्झौता गरेका थिए।
सञ्चालक समितिले करारपत्रमा तोकेको तलव सुविधा राष्ट्र बैंकको निर्देशनले कम हुने भएपछि घटेको तलवमा सेञ्चुरी जाने/नजाने अनिश्चित भएको थियो। तलव बिबादकै बीच नबिलबाट शशिन जोशी बाहिरिए। 


 
खाली रहेको नबिलमा जान शाहले एप्रोच गरेका हुन्?
 
शाह अहिले दिल्लीमा छन्। उनले टेलिफोनमा नबिल की सेञ्चुरी भन्ने बारेमा बिजमाण्डूसँग कुराकानी गरे।
 
'सेञ्चुरीमा तलवको इस्यु आएको छ। तोकिएको तलव नदिने भएपछि मैले सोच्नै पर्ने हुन्छ' उनले भने। 
 
सेञ्चुरीसँग शाहले मासिक १२ लाख बढि तलव सुविधाको सम्झौता गरेका थिए। राष्ट्र बैंकको तलव सुविधासम्बन्धि निर्देशनले प्रमुख कार्यकारीलाई १२ लाख बढि तलव दिन सेञ्चुरीको वासलातको क्षमताले मिल्दैन। तलव घटेर ८/९ लाख रुपैयाँ हाराहरीमा आउँछ।
 
राष्ट्र बैंकको तलव सुविधासम्बन्धि मार्गदर्शन विपरित किन बढि दिएको भन्दै सेञ्चुरी बैंकलाई पत्र लेखेको थियो। बैंकले आगामी बर्षहरुमा हुने नाफा र मर्जरपछि बढ्ने क्षमताका आधारमा तलव १२ लाखमाथि तोकिएको जनाएको छ।
 
राष्ट्र बैंकले भविस्यलाई हेरेर अहिले निर्णय गर्न नमिल्ने भनेपछि करारमा उल्लेख भएको तलव शाहले नपाउने भएका हुन्। 
 
'राष्ट्र बैंकको नियम अनुसार नमिल्ला की भनेर मैले त्यस बेलै सञ्चालकहरुसँग भनेको थिएँ' शाहले भने, 'उहाँहरुले हामी मिलाइ हाल्छौं नि भन्नु भयो। उहाँहरुले नमिलाएपछि म घटेर जाने कुरा त हुँदैन।'
 
नबिल बैंक जाने चर्चा छ नि? भन्ने प्रश्नमा शाहले प्रष्ट जवाफ दिए- मैले त्यहाँ धेरै बर्ष काम गरेको हुँ। करियर नै त्यहाँबाट सुरु भएको हो। नबिल खाली भएपछि मलाई प्रस्ताव आएको छ। मेरो सञ्चालकहरुसँग राम्रै सम्बन्ध छ।
 
अनिल शाहले नबिलबाटै करियर सुरु गरेका थिए। उनले त्यहाँ इन्टर्न गरेका थिए। त्यसपछि तत्कालिन ग्रन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा गएका थिए। त्यहाँबाट नबिलमा महाप्रबन्धकका रुपमा भित्रिएका थिए। बैंकमा प्रमुख कार्यकारी हुँदै नेपाल बैंकमा आवेदन दिएका थिए तर त्यो प्रकृया खारेज भएपछि नैतिकताका आधारमा भन्दै उनले नबिल छाडेर मेगा बैंकको संस्थापक सिइओ बनेका थिए। मेगामा ८ बर्ष काम गरेपछि उनले बाहिरिने समयमा सेञ्चुरीमा चार बर्षका लागि करार सम्झौता गरेका हुन्।

Tata
GBIME
Nepal Life