काठमाडौं। लुम्बिनी बैंक र नवदुर्गा फाइनान्स आपसमा गाभिने भएका छन्। छ महिनाअघि मञ्जुश्री फाइनान्ससँग मर्जर सम्झौता गरेर गत साता लाअग भएको लुम्बिनी बैंकले नवदुर्गासँग फेरी मर्जर प्रकृया अगाडि वढाएको हो।
मर्जरका लागि दुवै संस्थाहरुले आगामी जेठ ९ गते विशेष साधारणसभा डाकेका छन्। स्रोतका अनुसार नवदुर्गा लुम्बिनी बैंकसँग प्रति सेयर ८० रुपैयाँका दरले गाभिने निश्चित भएको छ। जेठ ९ गतेको साधारणसभाले अनुमोदन गरेपछि दुवै संस्था यसै आर्थिक बर्ष औपचारिक मर्जरमा गएर एकिकृत कारोबार गर्ने योजनामा छन्। मञ्जुश्री फाइनान्सले सेयर स्वापमा चित्त नवुझाएपछि दुवै संस्था अलग भएको स्रोतको दावी छ।
गाभिएपछि नयाँ बैंकको नाम लुम्बिनी नै हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शोभनदेव पन्त नै हुने छन् भने उच्च व्यवस्थापनमा पनि लुम्बिनीकै होल्ड हुने छ। लुम्बिनी बैंकको अहिले एक अर्ब ७२ करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी छ। नवदुर्गाको पुँजी १७ करोड ९३ लाख रुपैयाँ छ।
स्वाप रेसियो ८० प्रतिशत कायम भएकाले लुम्बिनीमा नवदुर्गाको प्रवेशले चुक्ता पुँजी १४ करोड ३४ लाख रुपैयाँ थपिने छ। त्यसपछि लुम्बिनीको चुक्ता पुँजी एक अर्ब ८७ करोडको हाराहारीमा पुग्ने छ। नेपाल राष्ट्र बैंकले यसै आर्थिक बर्ष पुँजी दुई अर्ब पुर्याउनु पर्ने व्यवस्था गरेकाले उसले हकप्रद वा वोनस सेयर वितरण गर्नु पर्ने हुन्छ।
दुवैको विशेष साधारणसभाले मर्जरका लागि अन्तिम स्वीकृति दने प्रस्तावलाई अनुमोदन गर्ने छ। लुम्बिनीको साधारणसभाले संस्थापकको सेयर प्राथमिकमा परिवर्तन गर्ने प्रस्ताव पनि अनुमोदन गर्दैछ।
यो पनि पढ्नुस्











