प्रभात भट्टराई/बिजमाण्डू
काठमाडौं । आन्तरिक उडानमा मुलुकको नम्बर एक वायु सेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ । आउँदो नोभेम्बरसम्म सम्भावित गन्तव्य र बजार बारे अनुसन्धान गरि सन् २०१६ भित्र उडान सुरु गरि सक्ने कम्पनीको तयारी छ ।

सुरुमा तीन वटा जहाज बाट उडान गर्ने र चार बर्ष भित्र १५ वटा जहाज पुर्याउने महत्वाकांक्षी लक्ष्य कम्पनीले लिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि जहाज लिजमा नभइ किनेरै ल्याउने गरी बुद्धले तयारी गरेको छ ।
बुद्ध एयर स्रोतकाअनुसार जहाज खरिदका लागि कम्पनीले निर्माताहरु क्यानडाको बम्बाडियर, अमेरिकाको बोइङ र फ्रान्सको एयरबससँग छलफल अघि बढाइ सकेको छ । नोभेम्बरसम्ममा कुन कम्पनीको जहाज खरिद गर्ने भनेर टुङ्गो लगाउने, सुरुवातका गन्तव्यबारे पहिचान गर्ने र उडान थाल्न मिति घोषणा गर्ने तयारी कम्पनीको छ । एक सय ५० सिट आसपास क्षमताको जेटलाइनरबाट अन्तर्राष्ट्रिय सुरु गर्ने प्रारम्भिक योजना बुद्ध एयरको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि कम्तिमा ५५ प्रतिशत बुद्ध एयरको सेयर रहेको नयाँ बुद्ध एयर इन्टरनेशनल कम्पनी स्थापना हुनेछ । पुँजीका हिसाव यो कम्पनी नेपालकै ठुलो वायु सेवा कम्पनी बन्नेछ । कम्पनीको चुक्ता पुँजी सवा अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ । र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता निजी क्षेत्रलाई लगानी गर्ने संस्था आए १५ प्रतिशत सेयर दिने र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउने तयारी बुद्धको छ । अरु विदेशी कम्पनीसँग रणनीतिक साझेदारी भने कम्पनीले गर्नेछैन ।
सन् १९९७ मा एउटा १८ सिटको बिच १९०० डी जहाजबाट आन्तरिक उडान सुरु गरेको बुद्ध एयरसँग अहिले ७२ सिटको एटिआर सहित आठ वटा जहाज छन् । आन्तरिक उडानमा सबैभन्दा धेरै यात्रु ओसार्ने र आर्थिक कारोवार गर्ने कम्पनी बुद्ध एयर बनि सकेको छ । यो बर्ष पाँच अर्बभन्दा बढिको कारोवार गर्ने कम्पनीको लक्ष्य छ ।
आन्तरिक उडानमा पाएको सफलता सुत्र बमोजिमै अन्तर्राष्ट्रिय उडान थाल्ने रणनीति लिएको कम्पनी स्रोतको भनाइ छ । बुद्ध एयरको अबको नयाँ कदम अन्तर्राष्ट्रिय उडान नै हो, कम्पनी स्रोतले भन्यो, विगतको सफलताको आधारमा पनि हामी नयाँ योजनामा सफल हुन्छौं भन्ने विश्वास छ ।
नेपालबाट अन्तराष्ट्रिय उडान थालेर बन्द भएका नेकोन एयर, कस्मिक एयर, फ्लाइ यतीदेखि पछिल्लो समयको बिबि एयरवेजसम्मको असफलताको कारण पत्ता लगाएको र त्यसबाट बच्ने उपाय पनि आफुहरुसँग रहेको कम्पनी स्रोतको दाबी छ ।
—
बिरेन्द्रबहादुर बस्नेत
प्रबन्ध निर्देशक, बुद्ध एयर
अहिले काठमाडौंको गन्तव्यमा दुई दर्जन बढि विदेशी एयरलाईन्स कम्पनीहरुले उडान गर्दै आएका छन् । उनीहरुमध्ये अधिकांशले नाफा कमाएको अवस्थामा दुरदर्शी सोचसहित आएको नेपाली कम्पनीले घाटा नखाने बुद्ध एयरको ठम्याइ छ । नेपालले अहिलेसम्म पर्यटन प्रवर्धन नगरेका गन्तव्यबाट समेत पर्यटक ल्याउने कम्पनीको रणनीति छ ।
नेपालमा उडान नगर्ने बृटिस एयरवेज जस्ता कम्पनीसँग सहकार्य गर्न सकिन्छ, कम्पनी स्रोतको भनाइ छ । बृटिस एयरवेजले पश्चिमी गन्तव्यका यात्रु भारतसम्म ल्याउने र त्यहाँबाट यता बुद्ध एयरमा आउने व्यवस्था गर्ने हो असफल हुने अवस्था देखिँदैन, कम्पनी स्रोतको भनाइ छ । यहि शैलीमा खाडी क्षेत्रका बिभिन्न गन्तव्यमा आउने पश्चिमी तथा थाइल्यान्ड, मलेसिया लगायत पुर्वी गन्तव्यमा आउने हवाइ सेवा कम्पनीसँग पनि सहकार्य गर्ने लक्ष्य कम्पनीको छ ।
आफ्ना जहाज थप्दै गएपछि पश्चिमी गन्तव्यसम्म पुगेर पर्यटकलाई सिधा नेपाल ल्याउने, नेपालमा बढ्न थालेका चिनीयाँ पर्यटक लक्षित गरि चीनका बिभिन्न गन्तव्यमा उडान गर्ने कम्पनीको प्रारम्भिक योजना छ । आफुले अन्तर्राष्ट्रिय उडान सुरु गरे पछि नेपाल उडानमा गरि रहेका विदेशी कम्पनीहरु भाडा घटाउन समेत बाध्य हुने बुद्ध एयरको ठम्याइ छ ।
पढ्नुहाेस् बस्नेतकाे अन्तर्वार्ता विदेशीले बुद्ध एयरमा इक्विटी मागे, मैले दिइन्
जहाँ अहिलेसम्म नेपालको पर्यटन प्रचार भएको छैन त्यहाँबाट समेत यात्रु ल्याउने लक्ष राखेका छौं, कम्पनी स्रोतले भन्यो । बुद्ध एयरको अभियान नेपालमा बार्षिक १५ लाख पर्यटक भित्र्याउन सफल हुने कम्पनीको विश्वास छ । तीन वटा जहाज उडाउँदा बर्षमा ३० अर्बको कारोवार गर्ने र १५ वटा जहाज पुग्दा एक खर्ब भन्दा बढिको कारोवार हुने प्रारम्भिक अध्ययनमा देखिएको बुद्ध एयर स्रोतले जानकारी दियो ।
बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणबाट अन्तर्राष्ट्रिय उडान अनुमती पाइसकेको छ । कम्पनीले अहिले काठमाडौंबाट भुटान र भारतको वनारसमा उडान गर्दै आएको छ । वनारस उडानको मोडालिटी परिवर्तन गरि अन्तर्राष्ट्रिय उडानको अभ्यास तत्काल सुरु गर्ने कम्पनीले योजना बनाएको छ । वनारस उडानलाई आक्रामक प्रचार अभियानका साथ नयाँ ढंगले सुरु गर्न लागेका छौं, कम्पनी स्रोतको भनाइ छ ।
कम्पनीका प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडान थाल्न बुद्ध एयरले गृहकार्य गरेको पुष्टि गरे । हो, हामीले गृहकार्य थालेका छौं, तर त्यसको निष्कर्श आउने समय भएको छैन्, उनले भने । अहिले हामी अध्ययनमै छौं, विमान सञ्चालनका अनेक मोडालिटी हुन्छन्, ती मोडालिटीका विषयमा पनि टुङ्गो लागेको छैन, उनले भने ।










