एचएन्डबीबाट राष्ट्र बैंक वाहिरियो, पाँच जना प्रवर्द्धकलाई बैंक जिम्मा, फागुनसम्म साधारणसभा

बिजमाण्डू
२०७१ मंसिर १ गते ००:०० | Nov 17, 2014
काठमाडौं। नेपाल राष्ट्र बैंकले एच एन्ड बी डेभलपमेन्ट बैंकको व्यवस्थापन त्यहीका प्रवर्द्धकहरुलाई जिम्मा लगाएर फर्किएको छ। राष्ट्र बैंकले मंगलबारबाट औपचारिक रुपमा एच एन्ड बी बैंक छाड्ने छ।

Tata
GBIME
Nepal Life


 

'हामीले एचएन्डबी बैंक छाडेर त्यहीका प्रवर्द्धक सेयरधनीलाई जिम्मा लगाएका छौं,' राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका प्रमुख मनमोहनकुमार श्रेष्ठले बिजमाण्डूसँग भने, 'अब बैंक त्यहीका सेयरधनीहरुले सुधार गर्ने छन्।'
 
बैंकका प्रवर्द्धकहरुले सुधार प्रकृया आफूहरुले नै थाल्ने भन्दै अस्वस्त तुल्याएपछि राष्ट्र बैंक फर्किने निर्णयमा पुगेको हो।

 

राष्ट्र बैंकले एचएन्डबीको सञ्चालक समिति त्यहीका पाँच जना प्रवर्द्धकहरुलाई जिम्मा लगाएको छ।
 

सुशिलराज पराजुली, माधवप्रसाद आचार्य, गोपालप्रसाद वास्तोला, केशरमान कर्मचार्य र मेखवहादुर गुरुङले बैंकको जिम्मा लिएका छन्। उनीहरुले बैंकका बरिष्ठ कर्मचारीलाई व्यवस्थापनको नेतृत्वको जिम्मा दिएर आफूहरुले सुधार प्रकृया थाल्ने छन्।
 
राष्ट्र बैंकले उनीहरुलाई फागुन मसान्तभित्र बार्षिक साधारणसभा सकेर नयाँ सञ्चालक समिति गठन गर्ने जिम्मा दिएको छ।
 
नेपाल राष्ट्र बैंकले एचएन्डबी जिम्मा लिएपछि पुँजी कोष अनुपात बढेको थियो। पुँजी कोष बढेपछि एचएन्डबी डेभलपमेम्ट बैंक शिघ्र सुधारात्मक कारवाहीबाट पनि हटेको छ। 
 
राष्ट्र बैंकले गत असोज १३ गते सञ्चालक समितिलाई वर्खास्त गर्दै प्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुलाई अवकास दिन निर्देशन दिएको थियो।
 
निलम्वनपछि बैंकको व्यवस्थापन संयोजकमा राष्ट्र बैंकबाट उप–निर्देशक ज्ञानुकृष्ण अधिकारीलाई पठाएको थियो । अधिकारी अवकास भएका पाएपछि उनको स्थानमा विष्णुमणि गौतमलाई पठाइएको थियो । त्यो टिममा सहायक निर्देशक हेमराज अधिकारी सदस्य थिए ।
 
गुड फर पेमेन्ट चेकमा करिव ८३ करोड रुपैयाँ हिनामिना भएपछि बैंक समस्यामा परेको थियो। वीरगञ्ज फाइनान्स र हिमचुली विकास बैंक मर्ज भएर एचएन्डबी डेभलपमेन्ट बैंक बनेको हो।