राष्ट्रिय बाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर चार सयमै बेच्ने, एक सय ३० घट्यो

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
राष्ट्रिय बाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर चार सयमै बेच्ने, एक सय ३०  घट्यो


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो स्वामित्व (क्रस होल्ड) मा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर मूल्य घटाएर फेरि बिक्री गर्ने भएको छ । बैंकले प्रति कित्ता एक सय ३० रुपैयाँ मूल्य घटाएर सेयर बिक्री गर्न लागेको हो ।
 
मंसिर अन्तिम साताबाट बिक्री गरिने सेयरको मूल्य प्रति कित्ता न्युनतम चार सय रुपैयाँ हुने छ । यसअघि प्रति कित्ता मूल्य पाँच सय ३० रुपैयाँ थियो ।
 
‘इन्भेष्टमेन्ट बैंकको वोनस सेयर थपिएको, बजारको ट्रेन्ड हेरेर मूल्य घटाउने निर्णयमा पुगेका हौं,’ राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले मंगलबार बिजमाण्डूसँग भने, ‘पहिलेको मूल्य वढी भयो भन्ने सर्वसाधारण लगानीकर्ताबाट गुनासो आएकाले त्यसलाई पनि संवोधन गर्न खोजिएको हो ।’
 
बैंकले यसअघि प्रति कित्ता  पाँच सय ३० रुपैयाँका दरमा मूल्य कायम गर्दा ११ लाख ८० हजार कित्ता सेयर बिक्री भइसकेको छ । बैंकले त्यो बेला ६२ लाख २० हजार कित्ता सेयर बिक्रीमा राखेको थियो । इन्भेष्टमेन्ट बैंकले गत बर्षको नाफाबाट वोनस सेयर दिने निर्णय गरेपछि सात लाख ५६ हजार कित्ता सेयर थपिएको छ । बैंकसँग अहिले इन्भेष्टमेन्टको ५७ लाख ९६ हजार कित्ता सेयर बाँकी छ ।
 
‘पुस मसान्तभित्र बिक्री गरिसक्ने योजनामा हामी छौं,’ उनले भने, ‘बिक्रीपछि बैंकलाई साढे दुई अर्ब रुपैयाँभन्दा वढी रकम आउने छ ।’ इन्भेष्टमेन्ट बैंकको सेयर न्युनतम एक सय कित्तासम्म खरीद गर्न सकिने बैंकले जनाएको छ । 

Tata
GBIME
Nepal Life

बैंकले नेपाल आवास फाइनान्सको सेयर पनि बिक्री गर्ने छ । कम्पनीको १९ हजार कित्ता सेयर बिक्री भइसकेको छ । अब एक लाख ७८ हजार कित्ता सेयर बिक्री गर्न बाँकी छ । बैंकले प्रति कित्ता एक सय एक रुपैयाँका दरले फाइनान्सको सेयर बिक्री गर्ने छ ।