४६ अंकको बृद्धिपछि सेयर बजारमा सामान्य करेक्सन, सुचक साढे ६ अंकले घट्यो, करोबारमा पनि गिरावट

बिजमाण्डू
२०७१ पुष १ गते ००:०० | Dec 16, 2014
काठमाडौं । सेयर बजार फेरि ९१० अंकमै ओर्लिएको छ । दुई दिन लगातार ४६ अंकले बढेको सेयर बजार तेस्रो दिन मंगलबार ६.५४ अंकले घटेर ९१० मै फर्किएको हो ।
 
दुई दिन सरासर बजार बढेपछि आगामी दिनमा थप उकालो लाग्ने विश्लेषणका आधारमा ठूला लगानीकर्ताले चलखेल गर्न थालेपछि बजार सामान्य घटेको हो । ठूला लगानीकर्ताले बजारलाई तल्लो तहमै राखेर सेयर खरीद गर्न थालेपछि मंगलबार सामान्य करेक्सन भएको हो ।


 
यद्यपी मंगलबार पनि बजारमा खरीद चाप नै थियो । लगानीकर्ताहरु बेच्नभन्दा किन्नका लागि सक्रिय हुन थालेपछि आपुर्ति कम हुन थालेको थियो । ‘बजार घट्दा पहिले बिक्री गर्नेहरु ह्वात्तै सक्रिय हुन्थे, आज त्यस्तो देखिएन,’ एक सेयर ब्रोकरले भने, ‘उनीहरु बेच्न छाडेर किन्ने मुडमै थिए ।’
 
बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २० करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ । बजार बढ्दा कारोबार रकम पनि बढेर ३६ करोड माथि पुगेको थियो । ‘बजारमा माग अनुसारको आपुर्ति नभएरै कारोबार रकम सुधार नभएको हो,’ ती ब्रोकरले भने, ‘यही बीचमा राजनीतिक पाटीहरुमा केही विवादको समाचार सार्वजनिक भएकाले पनि लगानीकर्ता पर्ख र हेरको मुडमा पुगेका छन् ।’
 
दिनभरमा एक सय २९ कम्पनीका सेयर किनबेच भएका छन् । पाँच लाख ३० हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । होटल र उत्पादनमूलक वाहेक सबै सुचक घटेका छन् । सबैभन्दा वढी बिमा सुचक साढे ५१ अंकले घटेको छ । त्यसपछि जलविद्युत् ८.८८ अंक र बैंकिङ ६.२७ अंकले घटेको छ । 
 
सबैभन्दा वढी चिलिमेको दुई करोड ११ लाख रुपैयाँका सेयर किनबेच भएका छन् । यसपछि एभरेष्ट बैंकको एक करोड ५८ लाखको सेयर किनबेच भएको छ । पछिल्लो समय ठूला कम्पनीको सेयरमा लगानीको चाप देखिएको छ । 
 
बजार घट्दा पनि सबैभन्दा वढी कमाउनेमा सेन्ट्रल फाइनान्स, प्यासिफिक डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स, साना किसान विकास बैंक र ग्रान्ड बैंकका लगानीकर्ता छन् । गुमाउनेमा प्रिमियर फाइनान्स, निलगिरि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । 

Tata
GBIME
Nepal Life