पेट्रोलियम पदार्थको भाउ दुई प्रतिशत भन्दा धेरैले घटाउने निगमको तयारी, भाउ आइतबारयता नघट्ने

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
पेट्रोलियम पदार्थको भाउ दुई प्रतिशत भन्दा धेरैले घटाउने निगमको तयारी, भाउ आइतबारयता नघट्ने

काठमाडौं। नेपाल आयल निगमले दुई प्रतिशत भन्दा धेरैले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ। निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्यसूची अनुसार यस पटक धेरै अन्तरमा मूल्य घटाउने तयारी गरेकाले समायोजनमा ढिलाइसमेत भएको छ।

Tata
GBIME
Nepal Life

निगमले मंगलबार नै मूल्य समायोजन गर्ने बताए पनि ठुलो अन्तरमा मूल्य समायोजन गर्दा कार्यविधि संशोधन गर्नुपर्ने भएकाले समायोजनमा ढिलाइ भएको जनाएको छ।

'हामीले यसपटक दुई प्रतिशत भन्दा धेरैले मूल्य समायोजन गर्ने तयारी गरेका छौं,' निगम स्रोतले भन्यो, 'दुई प्रतिशत भन्दा धेरै मूल्य घटबढ गर्दा कार्यविधि संशोधन गर्नुपर्ने भएकाले समायोजनमा ढिलाई भएको हो।'

निगमले यसपटक पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य ठुलो अन्तरमा समायोजन गर्ने तयारी गरेको छ। 'यसपाली पहिले भन्दा अलि धेरैनै घटबढ हुन्छ,' निगम स्रोतले भन्यो, 'यसपटक ग्यास बाहेक अन्य पदार्थको मूल्य समायोजन हुन्छ।'

कार्यविधि संशोधन गर्न निगम संचालक समितिको बैठक बस्‍नुपर्छ। निगम संचालक समितिका अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो काठमाडौं बाहिर रहेकाले उनी फर्किएपछि मात्रै मूल्य समायोजन सम्बन्धि निर्णय हुने भएको छ।

निगमले समयमै मूल्य समायोजन नगरेको भन्दै विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुभाएका छन् । यसअघि प्रधानमन्त्री सुशील कोइारालाले पनि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई मूल्य घटाउन निर्देशन दिएका थिए ।

अहिले निगमले पेट्रोल लिटरको एकसय २३ रुपैयाँ प्रतिलिटरमा बेच्दै आएको छ । यस्तै डिजेल र मट्टितेल ९७.५० रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर १४ सय ७० रुपैयाँमा बेच्दै आएको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य अटोमेशन प्रणालीमा जाने निर्णय गरेसँगै गएको असोजयता पाँच पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिसकेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्ने हल्लासँगै काठमाडौंमा पेट्रोलको समेत कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ । थानकोट डिपोमा पम्पहरुले साविकको तुलनामा ३० प्रतिशत कम माग गरेको डिपोले जनाएको छ ।