काष्ठमण्डप बैंकको सिइओमा उमेशसिंह भन्डारी, माछापुच्छ्रे बैंक छाडे, मर्जरमा विशेष दख्खल

बिजमाण्डू
२०७१ फागुन १३ गते ००:०० | Feb 25, 2015
काष्ठमण्डप बैंकको सिइओमा उमेशसिंह भन्डारी, माछापुच्छ्रे बैंक छाडे, मर्जरमा विशेष दख्खल
काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भन्डारीलाई नियुक्त गरेको छ । 

Tata
GBIME
Nepal Life

बैंकको १६१औं सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनले चैत १ गतेबाट  काष्ठमण्डप बैंकमा कार्यभार सम्हाल्ने छन् । 

 
यसअघि उनी माछापुच्छ्रे बैंकमा प्रमुख वित्त अधिकृत थिए । स्टेन्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज हुनुअघि उनी त्यहाँ प्रमुख कार्यकारी अधिकृत थिए । उनकै पहलमा स्टेन्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा गाभिएको थियो ।
 
स्टेन्डर्ड फाइनान्सअघि उनले अर्को दुई संस्था पनि मर्ज गराएका थिए । नारायणी फाइनान्स र नेशनल फाइनान्स मर्ज गराए लगत्तै उनी स्टेन्डर्ड फाइनान्स गएका थिए । स्टेन्डर्ड फाइनान्स मर्ज गराएपछि उनी माछापुच्छ्रे बैंकको नायव महाप्रबन्धक हुने सहमति भएपनि कार्यान्वयन हुन सकेको थिएन ।
 
केही साताअघि मात्रै काण्ठमण्डपले उमेश रेग्मीलाई कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।  शिखर फाइनान्स मर्ज हुनुअघि उनी त्यहाँका प्रमुख कार्यकारी थिए । मर्ज भएको केही समयपछि उनलाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको हो । 

भन्डारीअघि माथिल्लो व्यवस्थापनबाट दुई जनाले माछापुच्छ्रे  बैंक छाडिसकेका छन् । विजयवहादुर शाह र अशोक खड्काले बैंक छाडेका थिए । 

भन्डारीले सन् १९९० देखि बैंकिङ किरयर सुरु गरेका हुन् । त्यसबेला सहायकस्तरमा उनले नबिल बैंकमा जागिर सुरु गरेका थिए । झन्डै सात बर्ष नबिलमा काम गरेपछि उनले सहायक प्रबन्धकका रुपमा एभरेष्ट बैंकमा जोडिए । 
 
एभरेष्टमा पञ्जाव नेशनल बैंक आवद्ध भएपछि उपल्लो पदमा नियुक्त हुने नेपालीमध्ये उनी पनि हुन् । एभरेष्टमा दुई बर्ष काम गरेपछि उनी तत्कालि इन्डोसेज (अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंकमा) ६ बर्ष विताए । 
 
त्यहाँबाट नेपाल वंगलादेश (एनबी बैंकमा समस्या आएपछि) को व्यवस्थापन सम्झौतामा रहेर तीन बर्ष काम गरे । भन्डारीले त्यहाँ व्यवस्थपन समितिको सदस्य र प्रमुख कर्जा अधिकृतका रुपमा काम गरेका थिए । त्यहाँ उनी सदस्य रहेर एनबी बैंक र बंगलादेश फाइनान्सको मर्ज गराएका थिए । त्यहाँ तीन बर्ष काम गरेपछि उनी नारायणी फाइनान्स र नेशनल फाइनान्सको मर्ज गराउन मर्जर संयोजक भएर गए ।
 
दुवैको मर्जर सफल भएपछि साढे दुई बर्ष उनी नारायणी नेशनल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत भएर बसे । यो मर्जर राष्ट्र बैंकले मर्जर नियमावली ल्याउनुअघि भएको थियो । 
 
मर्जर सफल भएपछि उनी स्टेन्डर्ड फाइनान्स गएका थिए । त्यहाँ पनि उनले माछापुच्छ्रे बैंकसँग मर्जरका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । माछापुच्छ्रे  बैंकमा तीन बर्ष काम गरेपछि उनी काष्ठमण्डप डेभलपमेन्ट बैंक गएका हुन् ।
 
‘माछापुच्छ्रे र स्टेन्डर्ड फाइनान्सको मर्जरमा मेरो मिसन पुरा भयो, त्यसमा सफलता पनि मिल्यो,’ भन्डारीले बिजमाण्डूसँग भने, ‘नयाँ संस्थालाई पनि मर्जरमा लैजाने वा सफल रुपमा अगाडि वढाउने योजना छ ।’